तराई मधेशमा आज ‘जुडशीतल’ पर्व मनाइँदै

समाचार खुड्किलो

तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’ मनाइएको यस क्षेत्रमा जुडशीतल मनाइँदैछ । विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुई दिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अंग भएको बताइएको छ ।

____________________ बिज्ञापन __________________

वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा पहिलो दिन चना (बदाम) जौँ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ । यसैगरी दोस्रो दिन (वैशाख २ गते) घरपरिवारका ज्येष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने गर्दछन् ।

मिथिलामा घरका कूलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये जुडशीतल पर्दछ । यस पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवता (कूलदेवता)लाई चढाउने परम्परा छ । बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ । त्यसै गरी गुणकारी सोहिजन (मुन्गा)को तरकारी, चनाको पीठोको बेसनबाट ‘बरी’ पकाएर ‘कढीबरी’ (बरीलाई मथिएको दहीमा पकाएर बनाइने परिकार) काँचो केरा, लौका, परवलसहितका तरुवा पर्वका खास परिकार मानिन्छन् ।

____________________ बिज्ञापन __________________

नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा सुपाच्य र शरीरलाई स्वास्थ्य राख्ने चना (बदाम)को सातु, दाल, सोहिजनको तरकारी, बदामको पीठोबाट बनाइएको बरी र दही मथेर कढी पकाएर खाइने परम्परा छ ।

सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिलहरूआज मध्याह्न साथीसंगीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गर्ने तयारीमा छन् । जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ ।

मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ । खासमा नयाँ वर्ष प्रारम्भसँगै यो वर्षभरि खेतीपातीका लागि अनुकूल समय रहोस् भन्ने पर्वको मुख्य सन्देश रहेकोछ।

____________________ बिज्ञापन __________________

यो पनि पढ्नुहोस

१ महिना अगाडि
तराई मधेशमा आज ‘जुडशीतल’ पर्व मनाइँदै
१ महिना अगाडि
निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक
१ महिना अगाडि
२०८२ को सुरुवातसँगै स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट
१ महिना अगाडि
नेपाल राष्ट्र बैंकले आजदेखि ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने
१ महिना अगाडि
तीनकुने घटनाबारे पूर्वराजा शाहले मुख खोले
१ महिना अगाडि
सप्तकोशी किनारबाट वेवारिसे अवस्थामा एक सय ८० किलोग्राम गाँजा बरामद
१ महिना अगाडि
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारा सहित २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु
४ महिना अगाडि
कुम्भमेलाको भागदौडमा ३० जनाको ज्यान गएको पुष्टि, कम्तीमा ६० जना घाइते