काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलामा बुधबार बिहान भएको भागदौडमा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । भारतीय अधिकारीहरूले भागदौडमा कम्तीमा ६० जना घाइते भएको जनाएका छन् ।
____________________ बिज्ञापन __________________

अधिकारीहरूका अनुुसार मृतकमध्ये २५ जनाको पहिचान भइसकेको छ । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको महाकुम्भका डिआईजी बैभव कृष्णलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । बुधवार मौनी अमावस्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा हुन लागेको ‘अमृतस्नान’ का बेला घटना भएको हो ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार भिडले नदीहरूको संगमस्थलमा लगाइएका बार तथा अवरोधलाई तोडेर ठेलमठेल गरेपछि भागदौड मच्चिएको हो ।केही तीर्थयात्री प्रहरीले राखेका छेकबार नाघेर संगमतिर जान खोजेपछि बुधबार बिहान १ देखि २ बजेका बीचमा घटना भएको जनाइएको छ । बुधबार करिब १० करोडले स्नान गर्ने अनुमान गरिएको थियो । अधिकारीहरूका अनुसार बिहान ८ बजेसम्मम ३ करोडले स्नान गरेका थिए ।
गत जनवरी १३ मा कुम्भमेला सुरू भएयता हालसमम्म २० करोड मानिसले स्नान गरिसकेका छन् । ६ साता लामो मेलाका क्रममा हिन्दु धर्माबलम्बीहरूले भारतको सबैभन्दा पवित्र नदी मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गर्ने गर्छन् ।
____________________ बिज्ञापन __________________


पवित्र नदीहरूको संगममा स्नान गर्दा पाप मोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । ४५ दिनसम्म चल्ने कुम्भ मेलामा करिब ४० करोड तीर्थयात्रीले स्नान गर्ने अनुमान छ ।
____________________ बिज्ञापन __________________
