सूचना मागकर्तालाई आन्तरिक राजश्व कार्यालय कलंकीको फोनबाट धम्की दिदै विदेशीलाई सूचना बेचिरहेको आरोप प्रति महासंघको घोर आपती, धम्कीदिनेलाई कारवाहीको माग ।
____________________ बिज्ञापन __________________

काठमाडौं । सूचना मागकर्तालाई काठमाडौं स्थित आन्तरिक राजश्व कार्यालय कलंकीको फोनबाट धम्की दिएपछि महासंघले आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै धम्की दिने कर्मचारीलाई कारवाहीको जोडदार माग गरेकोछ ।
सूचनाको हकका लागि राष्ट्रिय महासंघका सचिव पूर्णप्रसाद मिश्र, केन्द्रीय सदस्य भीम लामा, काठमाडौँ जिल्ला समिति अध्यक्ष विनोद बस्नेत, सचिव बिदुर सापकोटा र सदस्य सपना चन्दले संयुक्त रुपमा आन्तरिक राजश्व कार्यालय कलंकीमा सवारी मर्मत र इन्धन खर्चलगायत सार्वजनिक चासोको सूचना २०८१ भदौ ३१ गते, २०८१ असोज १६ गते, २०८१ मंसिर ३ गते र २०८१ पुस १ गते त्यस कार्यालयको इमेल ठेगानामा निवेदन पेश गरि सूचना माग गरेकाछन् ।
माग गरिएको सूचना मध्ये आंशिक सूचना मात्र मागकर्ताहरुलाई प्राप्त भई अरु सूचना प्राप्तिका लागि राष्ट्रिय सूचना आयोगमा पुनरावेदन भई प्रक्रिया अघि बढिरहेका बेला २०८१ पुस १२ गते दिउँसो ०१ः०३ बजेको समयमा सूचना मागको संयोजन गरिरहेका काठमाडौँका जिल्ला समितिका अध्यक्ष विनोद बस्नेतलाई आन्तरिक राजश्व कार्यालय कलंकीको ०१५२१९५७१ फोन नं. बाट आफनो परिचय नखुलाएका एक कर्मचारीले परिचय लिई तपाइँहरु कुन संस्थामा काम गर्नुहुन्छ, अनुहार नदेखाई सूचना माग गर्नुहुन्छ ? के का लागि काम गर्नुहुन्छ ? सूचना के प्रयोजनले माग्नुभएको ? भन्दै थर्काउँदै तपाईहरुलाई थाहाँ छ केही मानिसले सूचना माग गरेर विदेशीलाई बेचिरहेका छन् भन्दै अनापसनाप बोलेर सूचना मागकर्ताहरुलाई हतोत्साहि बनाएको घटना प्रति महासंघको गम्भीर ध्यानाअकर्षण भएको महासंघले आज आईतबार जारी गरेको एक प्रेस विज्ञप्तीमा उल्लेख गरिएकोछ ।
जारी विज्ञप्तीमा एउटा आधिकारिक सरकारी कार्यालयको फोन नम्बरबाट सरकारी कर्मचारीलेनै उक्त कार्यालयबाट सूचना माग गरेर विदेशीलाई बेचेको कुरा गरिरहदा सो कुराको पुष्टी हुनु जरुरी देखिएको जनाईएकोछ । को हुन् त ति व्यक्ति वा सूचना मागकर्ता जसले विदेशीलाई उक्त कार्यालयको सूचना बेचिरहेकोछ त ? तिनलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ भनी काठमाडौँ जिल्ला अध्यक्ष बस्नेतले भनेपछि फोन गर्ने कर्मचारी नरम स्वरमा प्रस्तुत भएको तथ्यले विभिन्न नाममा सूचना माग गर्नेलाई आन्तरिक राजश्व कार्यालय कलंकीले हतोत्साहित गर्न खोजेको महासंघको जारी विज्ञप्तीमा उल्लेख गरिएकोछ । विज्ञप्तीमा सूचना लिएर विदेशीलाई बेच्ने कोही मानिस छन् भने आन्तरिक राजश्व कार्यालय कलंकीले तत्काल प्रमाणसहित सार्वजनिक गरी त्यस्तो व्यक्ति जुनसुकै संस्थासँग आबद्ध भएपनि कानूनी कारबाहीको दायरामा ल्याउन महासंघले विज्ञप्ती मार्फतनै जोडदार माग गरेकोछ ।
____________________ बिज्ञापन __________________


“विदेशीलाई सूचना बेचेको भनी तर्साएर सूचनाको हकका अभियानकर्मीलाई आइन्दा सूचना नमागोस् भनी हतोत्साहित गर्न खोजिएको हो भने महासंघ यस्ता कदमको घोर निन्दा गर्दछ ।” महासंघका केन्द्रिय अध्यक्ष उम्मीद बागचन्दले बताउनुभयो । यस घटनाको यथार्थ छानबिन गर्न महासंघ आन्तरिक राजश्व विभाग र अर्थ मन्त्रालयसँग पनि जोडदार माग गरेको अध्यक्ष बागचन्दले बताउनुभयो ।
महासंघ आबद्ध सूचनाको हकका अभियानकर्मीले काठमाडौँ उपत्यकाका सबै आन्तरिक राजश्व कार्यालयमा सूचना माग गरेको महासंघले जनाएकोछ । सूचना माग गरी ती निकायलार्ई जिम्मेवार, पारदर्शी र जवाफदेही बनाउन नागरिक कर्तव्य पूरा गरिरहेका अभियानकर्मीलाई नियम संगत कार्यालयको इमेलमा सूचना मागको निवेदन पठाएकामा कार्यालयमै उपस्थित हुन भनी आन्तरिक राजश्व कार्यालय बानेश्वर, बत्तीसपुतली, जोरपाटी, पुतलीसडक, ठमेल र ललितपुरका कार्यालय प्रमुख र सूचना अधिकारीले अभियानकर्मीलाई फोन गरी कार्यालयमै आउन दबाब दिने, इमेलबाट किन सूचना माग गर्ने, नागरिकता अन्यको राखेर पनि सूचना माग गर्न सक्छन्, सूचना माग गर्ने कार्यालयमै उपस्थित हुनुपर्छ भनी हतोत्साहित गर्न खोजेका घटनाको महासंघ घोर निन्दा र भत्र्सना गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएकोछ ।
महासंघका अध्यक्ष उम्मीद बागचन्द र महासचिव अजयकुमार साहको संयुक्त हस्ताक्षर सहितको जारी विज्ञप्तीमा संविधान एवं कानुन प्रदत्त सूचनाको हकको सम्मान गर्न महासंघ सबै आन्तरिक राजश्व कार्यालय लगायत अन्य सार्वजनिक निकायलाई अनुरोध गरेको जनाएकोछ ।
महासंघले विज्ञप्ती मार्फत राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायको इमेलबाट नै सूचना माग गर्न सकिन्छ भन्ने आदेश गरेर तीनै तहका सरकार र त्यस अन्तर्गतका सार्वजनिक निकायका कार्यालय प्रमुखलाई आदेश गरिसकेको अवस्थामा आन्तरिक राजश्व कार्यालयले यसरी सूचना मागकर्ता नेपाली नागरिकलाई हतोत्साहित गर्ने उद्देश्यले गरेको हर्कत तत्काल सच्याउन र कानुन बमोजिम कार्यवाही अगाडी बढाउन सम्बन्धित सवै पक्षसँग अपिल गरेकोछ ।
____________________ बिज्ञापन __________________
