बुधबार भएको सौर्य एयरलाईन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भयो । पाईलटको जिवितै उद्दार गरि उपचारको क्रममा रहेकाछन । उक्त घटना प्रति शोक मनाउन विहिबार राष्ट्रिय झण्डा आधा झुकाउने निणर्य सरकारले गर्यो । राज्यले दुर्घटनामा आफ्ना नागरिकको मृत्यु हुँदा शोक मनाउनु विवादको विषय होइन । तर १८ जनाको मृत्युमा शोक मनाउने निणर्य गर्दा दुई वटा बसमा गरी ६० जनाभन्दा बढी यात्री दुर्घटनामा परेर २५ जनाको शव फेला र बाँकी यात्री बेपत्ता भएको अवस्थामा राज्यले किन शोक मनाएन ? यो प्रश्न अहिले सामाजिक संजालमा व्यापक बहसको रुपमा बाहिर आएकोछ । जनमानसमा ठूलो चर्चाको विषय समेत बनेकोछ ।
सरकारले विमान दुर्घटनालाई गम्भीरतापूर्वक लिने तर सडक दुर्घटनालाई सामान्य रूपमा हेरेर विभेदकारी नीति लिएको भन्दै सामाजिक सञ्जालहरूमा चर्को आलोचना भइरहेको छ । विमान दुर्घटनामा भौतिक क्षति बढी हुन्छ तर बस दुर्घटनामा होस् या विमान दुर्घटनामा होस्, मानवीय क्षति मापन गर्ने भनेको मृतकको संख्याले नै हो । जति बढी मानिसको मृत्यु भयो, त्यसबाट प्रभावित परिवारको संख्या बढी हुन्छ । विमानमा चढेका यात्रीको मृत्युमा शोक मनाउने, बसमा चढेका यात्रीको मृत्युमा शोक मनाउन कन्जुस्याइँ गर्दा नागरिकबिच नै राज्यले गर्ने विभेद व्यवहारमा प्रकट भएकोछ ।
६० जनाभन्दा बढी यात्रीमध्ये २५ जनाको हाराहारीमा शव फेला परिसकेको, बाँकी बेपत्ता यात्री जीवित फेला पर्ने सम्भावना टरिसकेको अवस्थामा शोकविहीन रहेको सरकारले विमान दुर्घटनामा १८ जनाको मृत्यु हुनासाथ शोक मनाउनुपर्ने आवश्यकता कसरी महसुस गर्छ भन्ने प्रश्न आम जनताको तहमा अनुत्तरित छ ।
विमानमा चढ्ने धनी र बसमा चढ्ने यात्री गरिब भनेर राज्यले विभेद कदापी गर्नुहुँदैन । संवेदनशील क्षेत्रबारे बेलैमा सूचना दिन नसक्नु राज्यको लापरबाही देखिएको भने अवश्य छ । राज्यले विमान दुर्घटना र बस दुर्घटनामा उत्तिकै ध्यान दिएर यस्ता घटना न्यूनीकरणका लागि पहल गर्नुपर्छ । सरकारले भने यस विषयमा ठोस प्रतिक्रिया दिएको छैन । जनताले उठाएको सवाल उपर अवश्य राज्यले पहलकदमी गर्ने छ भन्ने आशा त छदैछ ।